Skip This
सदनमा प्रधानमन्त्री–सांसद नोकझोक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ७ सोमबार
  • Thursday, 19 September, 2024
प्रतिनिधिसभाकाे साेमबारकाे बैठकमा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री केपी ओली । तस्बिर : अमुल थापा/नयाँ पत्रिका।
नयाँ पत्रिका काठमाडौं
२o८१ श्रावण ७ सोमबार १४:४६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सदनमा प्रधानमन्त्री–सांसद नोकझोक

विषयान्तर हुँदै प्रधानमन्त्रीले विपक्षी सांसदमाथि निरन्तर आक्रोश पाेखेपछि विपक्षी सांसदले भने, ‘आफ्ना कार्यकर्तालाई जसरी गालीगलौज नगर्नूस्’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण ७ सोमबार १४:४६:oo

प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि प्रतिनिधिसभाको रोस्टममा उपस्थित भएका प्रधानमन्त्री केपी ओली र विपक्षी दलका सांसदबीच प्रारम्भमै नोकझोक चलेको छ।

सभामुख देवराज घिमिरेले प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा जवाफ दिनका लागि प्रधानमन्त्री ओलीलाई रोस्टममा बोलाएका थिए। त्यसपछि प्रधानमन्त्री ओली रोस्टममा पुगे भने उनलाई कांग्रेस सांसद धनराज गुरुङले पहिलो प्रश्न सोधे। 

सांसद गुरुङले आर्थिक वर्ष ०८१/८२ को बजेट वक्तव्यको क्रमसंख्या ८३, ८४ र ८५ मा रहेका विषयमा केन्द्रित रहेर प्रश्न सोधे। उनले गण्डकी त्रिभूज आयोजनाअन्तर्गत पर्ने सिद्धार्थ राजमार्गलाई दुई लेनमा स्तरोन्नति गर्ने कार्य कहिलेबाट सुरु हुनेछ र कहिले सम्पन्न गर्ने लक्ष्य सरकारले लिएको छ भन्नेलगायतका प्रश्न सोधे।

त्यसपछि सभामुख घिमिरेले प्रधानमन्त्री ओलीलाई सांसद गुरुङले सोधेका प्रश्नको जवाफ दिन अनुमति दिए। प्रधानमन्त्री ओलीले सुरुमा परिवर्तनकारी आन्दोलनका महान् हस्ती, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसमा उनीप्रति सम्मान र श्रद्धासुमन व्यक्त गरे। त्यससँगै उनले केहीबेरसम्म पुष्पलालसँग सम्बन्धित विषयको चर्चा गरे। 

त्यसपछि प्रधानमन्त्रीले ‘एउटा कुरामा मेरो ध्यानाकर्षण भएको छ’ भन्दै सांसदहरूले बोल्दा भएका कुरा, सही कुरा, तथ्ययुक्त कुरा बोल्ने गरौँ भन्दै सांसदहरूलाई सम्झाउन थाले।

प्रधानमन्त्रीले भने, ‘यहाँ हामीले बोल्दा भएका कुरा बोल्ने गरौँ । जथाभावी, राजनीतिक फरक होला, पार्टी फरक होला, तर त्यसो भनेर जथाभावी बोल्ने नगरौँ । असभ्य तरिका ननिकालौँ, झुटको सहारा नलिऔँ । म फेरि एकपटक सम्झाएर भन्न चाहन्छु।’

प्रधानमन्त्रीले यति भनेपछि प्रतिनिधिसभाको हिजोको बैठकमा आफूले भनेका कुरालाई आजको बैठकमा विपक्षी दलका केही सांसदले गलत ढंगले उठाएको संकेत गर्दै सांसदहरूलाई संसद्को गरिमा बुझ्न, जननिर्वाचित प्रतिनिधिले त्यस हैसियतमा बोल्नुपर्ने भन्दै धारणा व्यक्त गरिरहे। 

‘प्रधानमन्त्री बनेको कसैलाई चित्त नबुझेको हुन सक्छ, कसैलाई मर्का परेको पनि हुन सक्छ’ भन्दै प्रधानमन्त्रीले आफू कुनै आवेश र उत्तेजनामा नभएको बताए । तर, निरन्तर विपक्षी दलका सांसदप्रति आक्रोश पोखिरहेपछि माओवादी केन्द्रका सांसद वर्षमान पुनले उठेर नियमापत्ति गरे। 

सभामुखले सांसद पुनलाई बोल्न आग्रह गरेपछि उनले प्रधानमन्त्री कुन सन्दर्भमा बोल्दै हुनुहुन्छ ? भन्दै प्रश्न गरे र प्रश्नउत्तरमा केन्द्रित हुनुपर्ने प्रधानमन्त्री विषयान्तर भइरहेको बताए। 

उनी त्यतिमा मात्र रोकिएनन्। प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई गाली गरेजस्तो सांसदलाई गालीगलौज गर्न नपाइने भन्दे आपत्ति जनाए। सांसद पुनले बोल्ने थालेपछि विपक्षी दलका सांसदले ताली ठोक्न थाले भने सत्तापक्षका एमाले प्रमुख सचेतक महेश बर्तौला उठेर बोल्न खोजे। 

सांसद पुनलाई जवाफ दिँदै प्रधानमन्त्रीले आफू विषयमै केन्द्रित रहेको र कसैलाई गालीगलौज नगरेको, बरु कसैले कसैलाई गाली नगरौँ भनेको स्पष्टीकरण दिए। 

प्रधानमन्त्री बोलिरहँदा सभामुख घिमिरेले विषयमा केन्द्रित हुन प्रधानमन्त्रीलाई निर्देश गरे। त्यसपछि मात्र प्रधानमन्त्री ओलीले सांसद गुरुङले राखेका प्रश्नको जवाफ दिन सुरु गरे।

छुटाउनुभयो की ?