Skip This
दुई वर्षअघि शिलान्यास गरिएकाे पसाह पुल निर्माण अझै अनिश्चित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ७ सोमबार
  • Thursday, 19 September, 2024
तस्बिर : २०७९ असोज ९ मा पुलको शिलान्यास गर्दै तत्कालीन जसपा नेता (हाल उपराष्ट्रपति) रामसहाय प्रसाद यादव ।
२o८१ श्रावण ७ सोमबार १४:१३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई वर्षअघि शिलान्यास गरिएकाे पसाह पुल निर्माण अझै अनिश्चित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण ७ सोमबार १४:१३:oo

दुई वर्षअघि शिलान्यास गरिएकाे जैतापुर–रामनगर जोड्ने पसाह खोलामा पक्की पुल निर्माण कार्य अलपत्र परेको छ। जसपा नेपालका तत्कालीन केन्द्रीय कार्यकारिणी सदस्य रामसहायप्रसाद यादव (हाल उपराष्ट्रपति)ले पूर्ववन तथा वातावरणमन्त्रीका रूपमा शिलान्यास गरेको पुल निर्माण अनिश्चित बनेको हो।

जितपुरसिमरा उपमहानगरपालिका– १७ को जैतापुर–रामनगर जोड्ने गरी पसाह खोलामा पक्की पुल बन्ने भएपछि यहाँका स्थानीय खुसी भएका थिए। तर, शिलान्यास भएको दुई वर्ष बितिसक्दासमेत निर्माणको सुरसार नहुँदा स्थानीयको खुसी निराशामा परिणत भएको छ। सिमरा–कोल्हवी (रजैया) सडकखण्डअन्तर्गत पसाह खोलामा बन्ने पुलको डिपिआर सम्पन्न भई साइट क्लियर गर्ने कामसमेत भइसकेको छ।

२०७९ असोज ९ गते आइतबारका दिन एक भव्य समारोहबीच एकैदिन एकैखोलामा दुईवटा पुलको वर्तमान उपराष्ट्रपति यादवले शिलान्यास गरेका थिए। जैतापुर–रामनगर र खमुवा–मधुवन जोड्ने दुई पुल शिलान्यास भए पनि अन्य प्रक्रिया अगाडि बढेको छैन।

संघीय निर्वाचनको मिति नजिएकै वेला गरिएको पुल शिलान्यासलाई कतिपयले त्यसवेला जसपाको चुनाव प्रभाव पार्ने खेल भनेका थिए। उक्त आरोप अहिले सत्य साबित भएको छ। जितपुरसिमरा उपमहानगरपालिका– १७ रामनगरका नमराज खड्काले भने, ‘आफ्नै पार्टीका मन्त्री रहेका वेला जसपाले विनाबजेट, विनातयारी, चुनावी चर्चाका लागि गरेको शिलान्यास थियो।’

४० करोडको लागतमा १६५ मिटर लामो पुल दुई वर्षमा निर्माण सम्पन्न गरिने भनेर शिलान्यासका क्रममा हालका उपराष्ट्रपति यादवले उद्घोष गरेका थिए । ‘घोषणाअनुसार काम भएको भए अबको चार महिनापछि पुल सञ्चालनमा आउनुपर्ने थियो। तर, पुल निर्माणको सुरसारसमेत छैन । यो दुःखको कुरा हो,’ पूर्ववडाध्यक्षसमेत रहेका खड्काले भने।

बारा क्षेत्र नं. ३ मा पर्ने यो पुल निर्माणका लागि पहल लिने तत्कालीन संघीय सांसद रामबाबुप्रसाद यादवले त्यसैवेला नेपाल सरकारले डिपिआर तयार गरिसकेको र अहिले बजेट विनियोजन भएको बताए। उनले खोलाले बर्सेनि धार परिवर्तन गरेका कारण नाै सय मिटर करिब खोला देखिए पनि दुई सय मिटर लामो मात्रै पुल बन्ने र त्यसका लागि ठेक्का प्रक्रिया सुरु भएको जानकारी दिए।

पुल निर्माण प्रक्रियाका लागि नगरपालिकाको अगुवाइमा साइट क्लियर गर्ने काम भइरहेको वडा नम्बर १७ का अध्यक्ष भीमबहादुर गंतानले बताए। गंतानका अनुसार जनप्रतिनिधि र सामाजिक अगुवाहरूको रोहवरमा पुल निर्माण हुने क्षेत्रको अनुगमन गरी चारकिल्ला निर्धारण भइसकेको छ।

पुल नहुँदा वडावासीलाई वडा कार्यालयबाट सेवा लिन समस्या हुँदै आएको छ। बर्खामा बाढी, डुबान र हिलो तथा सुक्खायाममा बालुवा र धुलोका कारण हैरानी खेप्नुपर्ने बाध्यता रहेको वडा नम्बर १७ रामनगरका आत्मादेव भट्टराईले बताए। यसका अलावा यो अति नै व्यस्त सडक खण्ड हो। ‘पुल बने लामो र जंगलको जोखिमपूर्ण यात्रा तय गर्दै सेवा लिन जानुपर्ने अवस्थाको अन्त्य हुने थियो, तर भएन,’ उनले भने।

छुटाउनुभयो की ?