
स्वास्थ्यका लागि राम्रो, दैनिक मजदुरी गर्नेका लागि भरपर्दो खाजा
झापा दमककी रम्मा राजवंशीले दमक चोकमा भक्काको व्यापार गर्न थालेको १० वर्ष भयो । प्रत्येक वर्ष पुसदेखि फागुन अन्तिमसम्म उनी दमक चोकको पीपलबोटमुनि भक्का बनाएर बेच्छिन् । राजवंशी समुदायको परम्परागत खाजा भक्का व्यापार गरेर नै उनले परिवार पाल्दै आएकी छिन् । उनी भन्छिन् ‘दिनमा पाँच केजी चामलको भक्का बेच्छु । त्यसबाट पाँच सयसम्म नाफा हुन्छ ।’ यसबाट कोठाभाडा र घरखर्च चलेको उनले बताइन् । उनी भन्छिन् ‘अरू पेसा जानिँदैन । छोराछोरी यसैबाट पढाएका छौँ ।’
हरेक बिहान ६ बजे चामलको पीठो र माटोको भाँडा लिएर चोकमा आइपुग्ने उनी सय जनाभन्दा बढीको भोक मेटाएर साढे नौ बजे मात्रै कोठामा फर्किन्छिन् । भक्का स्वास्थ्यका लागि पनि फाइदाजनक छ । त्यसकारण पनि जाडो मौसममा चिया र भक्काको स्वाद चाख्ने धेरै हुन्छन् । ‘यो चामलबाट मात्र बनाएको हो,’ उनी भन्छिन्, ‘जाडो महिनामा त खाजाको सट्टा भक्का खाने धेरै हुन्छन् ।’
हामीले भक्का बनाउँदा नगरपालिकाको टाउको किन दुख्छ : अग्नि राजवंशी
दमककी अग्नि राजवंशी पनि प्रत्येक दिन दमक चोकमा भक्काको व्यापार गर्न आउँछिन् । उनकोमा पनि भक्का खानेको भिड नै लाग्छ । ‘अहिलेसम्म त परिवार यसैबाट चलेको छ,’ उनी भन्छिन्, ‘भक्का बनाउन मिहिनेत लाग्छ र आम्दानी पनि राम्रै हुन्छ ।’ तर, सडकपेटीमा भक्का बनाएर बेच्दा नगरपालिकाले खेदाउने गरेको उनी बताउँछिन् । मिहिनेत गरेर खाँदा पनि नगरपालिकाले भाँडा नै उठाएर लगिदिने गरेको उनको दुःखेसो छ ।
‘ठूला व्यापारीले सडकसम्मै सामान राख्दा केही हुँदैन । हामीले दिनको दुई घन्टा भक्का बनाएर बेच्दा बस्नै दिँदैनन्,’ उनी भन्छिन्, ‘अस्ति पनि भाँडा र चामल उठाएर लगिदियो । पछि पाँच सय जरिवाना तिरेपछि फिर्ता दियो । भक्का सबैले मन पराउनुहुन्छ । तर, यहाँ राख्दा नगरपालिकाको टाउको दुख्छ ।’
स्वास्थ्यवर्धक भक्का
दमकका मदन बोहोरा जाडो महिनाभर भक्का खान बिहानै दमक चोक आउँछन् । हिउँदभर बिहानको उनको खाजा नै भक्का हो । यसले स्वास्थ्यलाई पनि निकै फाइदा गर्ने गरेको उनको अनुभव छ । ‘चामलबाट मात्र बनेको हो । भक्कामा अरू केही पनि मिसाइएको हुँदैन,’ उनी भन्छन्, ‘चिल्लोभन्दा त यो स्वास्थ्यका लागि कति राम्रो–राम्रो । भक्कासँग टमाटरको अचारको स्वादले मुखै रसाउँछ ।’
अग्नि राजवंशी
स्वास्थवर्धकसँगै छिटो बन्ने भएका खाजाका रूपमा भक्का खाने गरेको बताउँछन् दमकका डम्बरबल्लभ धिताल । ‘प्रायः हामी हतारमै हुन्छौँ । अरू खाजा बन्न धेरै समय लाग्छ,’ उनी भन्छन्, ‘यो त अडर गरिसक्दा बनिसक्छ ।’
दैनिक मजदुरी गर्नेको पक्का खाना भक्का
दमक–९ का भीमबहादुर कुमाल दैनिक मजदुरी गर्छन् । उनको घरमा कोही छैनन् । उमेरले ६० नाघिसकेका उनलाई दैनिक ज्याला मजदुरी गर्न मुस्किल छ । बुढेसकाल लागेसँगै काम पनि सहजै पाउँदैनन् । एक दिन कमाएकाले धेरै दिन धान्नुपर्ने बाध्यता छ । तर, उनको कमाइअनुसारको भरपर्दो खाना भएको छ भक्का । दश रुपैयाँमा एउटा भक्का आउँछ । दुईवटा खाँदा भोक मेटिन्छ । ‘सधैँ बिहानको खानाको सट्टा भक्का खान्छु । पेट भरिन्छ,’ उनी भन्छन्, ‘साँझ जसोतसो भात नै पकाएर खान्छु ।’
भक्का दिवस
राजवंशी समुदायले हिउँदमा माछा, बन्दागोभी, भन्टा, आलुलगायतको तरकारीसँग भाक्का खाने गर्छन् । ‘दिनभर पोखरी र खोलामा माछा मार्ने । त्यही माछालाई साँझ पकाउने र बिहान बाँकी बसेको माछासँग भक्का खाने चलन थियो,’ कोचिला भागुर फ्रन्टका संस्थापक अध्यक्ष अभय राजवंशी भन्छन्, ‘अहिले व्यापार गर्नेले अचारसँग मात्र दिने गरेका छन् ।’
कोचिला भागुर फ्रन्टले प्रत्येक वर्ष २९ पुसमा राष्ट्रिय भक्का दिवस बनाउँदै आएको छ । विशेष गरी राजवंशी समुदायको बसोवास रहेको झापा, मोरङ र सुनसरीमा भक्का बनाइन्छ । तर, सबैभन्दा धेरै खपत झापामा हुने भएकाले बिर्तामोडमा ०७४ सालबाट भक्का दिवस बनाउन थालिएको उनले बताए । ‘पुराना पुस्ताले भक्का बनाउँछन् । नयाँ पुस्ताले त कुन समुदायको परम्परा हो भन्ने थाहा पाउँदैन कि भनेर दिवस बनाएका हौँ,’ उनले भने । राजवंशी समुदायको घरमा खाजाका रूपमा बनाइँदै आएको भक्काले अहिले व्यावसायिक रूप लिएको अभय बताउँछन् ।
‘राजवंशीसँगै बसेका ताजपुरिया, गनगाई समुदायले पनि भक्का बनाउँछन् । तर, अहिले सडकदेखि महलसम्ममा भक्काको व्यापार सुरु भएको छ । काठमाडौंदेखि पूर्वी–पहाडी जिल्लामा पनि भक्का बनाइन थालिएको छ,’ उनी भन्छन्, ‘भक्काको व्यापारले व्यावसायिक रूप लिएसँगै बनाउने राजवंशी समुदायले पनि यही पेसा अँगालेर जीविका चलाउन सकेका छन् ।’
यसरी बन्छ भक्का
चामललाई करिब दुई घन्टासम्म पानीमा भिजाइन्छ । पानीबाट निकालेर थिग्र्याउनुपर्छ । त्यसपछि ओख्ली, ढिकी वा मिलमा कुट्नुपर्छ । पीठोलाई मसिनो चाल्नोले चाल्नुपर्छ । त्यसपछि थोरै पानी हालेर मुछ्नुपर्छ । पानीले मुछेर पीठोलाई नरम बनाउनुपर्छ ।
त्यसपछि एउटा भाँडामा पानी उमाल्नुपर्छ । भाँडामाथि माटोबाट बनाइएको दुलो परेको ढक्कन राख्नुपर्छ । ढक्कनलाई भाँडाभित्रको बाफ कतैबाट ननिस्कनेगरी राख्नुपर्छ । उम्लिएको पानीबाट निस्किने बाफमाथि भक्का बनाइने गरिन्छ ।
पानीले मुछेर नरम बनाएको पीठोलाई बटुकामा हालेर नरम सुतीको कपडाले बेरेर बाफ निस्किँदै गरेको ढक्कनमा राखेपछि भक्का पाक्छ । बाफमा भक्का पाक्न दुई मिनेट लाग्छ ।